हाल सम्पूर्ण विश्व नै संक्रामक कोरोना भाईरससंग लड़िरहेको अवस्थामा नेपालीहरुको महत्वपूर्ण पर्व बडादशैं आइसकेको छ भने अर्कों महत्वपूर्ण पर्व दीपावली पनि केही दिन मात्र पर छ । एक ब्यक्तिबाट अर्कोमा सजिलै सर्न सक्ने भएकोले कोरोना भाईरसको संक्रमणबाट सुरक्षित रहदै चाडपर्वहरु मनाउनु पर्ने बाध्यतामा हामी छौं । सरकारले पनि सामाजिक दूरी क़ायम राख्दै चाड़पर्वको खुसियाली मनाउन अनुरोध गर्दै आइरहेको छ । यसै प्रसंगमा अस्ट्रेलीयाको भिक्टोरीया राज्यमा बसोबास गर्ने सुदुर पश्चिमेली नेपालीहरुलाई एकिकृत गर्ने हेतुले खोलीएको सुदूरपश्चिम नेपाली समाज भिक्टोरीया (Far Western Nepalese Society of Victoria) ले गत २३ अक्टुबर शुक्रवारको दिन भर्चुअल माध्यमबाट शुभकामना आदानप्रदान बिशेष कार्यक्रम आयोजना गरेको छ । लामो समयको लक डाउन र सोसियल इसोलेसनबाट एकअर्कासँग भेटघाट नभएको परिस्थितीमा टाढा भएर पनि संगै भएको आभाष गराउने हेतुले सो कार्यक्रम आयोजना गरिएको आयोजक सुदूरपश्चिम नेपाली समाज भिक्टोरीयाका अध्यक्ष महादेव धानुकले जानकारी गराउनु भयो।

सुदूरपश्चिम नेपाली समाज भिक्टोरीयाले बर्षेनी गर्दै आईरहेको विभिन्न सांस्कृतिक कार्यक्रमहरू मध्ये यो वर्ष भर्चुअल माध्यमबाट यो सम्पन्न गरिएको यो पहिलो कार्यक्रम हो । सुदूरपश्चिम प्रदेशका माननीय मुख्यमंत्री श्री त्रिलोचन भट्टज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विशेष अतिथिहरू अष्ट्रेलियाका लागि संघीय प्रजातांत्रिक गणतंत्र नेपालका राजदूत महामहिम श्री महेशराज दाहाल; भिक्टोरियाका लागि नेपालका अबैतनिक दूत श्री चन्द्र योन्जन ज्यू; भिक्टोरियाको माथिल्लो सदानमा प्रतिनिधित्व गर्ने Clarinda district का सांसद Mr Meng Heang Tak, Federation of Nepalese Community Associations of Australia (FeNCAA) का अध्यक्ष डा राजु अधिकारी ज्यू , एनआरएनए अष्ट्रेलियाका अध्यक्ष श्री केशव कँडेल ज्यू, Nepalese Association of Victoria का अध्यक्ष श्री राम गुरूंग ज्यू लगायत सबै समुदायका नेताहरु र शुभचिन्तकहरुले शुभकामना संदेशहरू आदानप्रदान भएको थियो । सो कार्यक्रमको संचालन संस्थाका सचिव ड़ा एकिन्द्र तिमिल्सेना र लक्ष्मण संज्याल ले गर्नु भएको थियो भने उपस्थित अतिथिहरू र सहभागीहरूलाई अध्यक्ष धानुकले स्वागत गर्नु भएको थियो । कार्यक्रममा सुदुरपश्चिम नेपाली समाज भिक्टोरीयाका उपाध्यक्ष द्वय प्रेमराज उप्रेती र नरेश रावलले अथितिहरूलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । सो कार्यक्रम लाई zoom मार्फत ६५ जनाले र Facebook लाईभ मार्फत करिब ५०० जनाले प्रत्यक्ष हेर्नु भएको थियो । सो कार्यक्रमलाइ MN TV र eNepal को Facebook पेज मार्फत पनि प्रत्यक्ष प्रशारण गरिएको थियो ।
कार्यक्रममा सुदूरपश्चिमका चर्चित कलाकारहरू रबी ओड, चक्र बम, अराज केशव, अनिता चलाउने र टंक टिमिल्सिनाले आफ्ना लोकप्रिय प्रस्तुतिहरूद्वारा केही बेर मनोरंजन पनि गराउनु भएको थियो ।